Header Ads

Breaking News
recent

लमी

बिछट्टै राम्री थी ऊ । स्कुलमा सबैकी प्यारी । घरमा सबैकी प्यारी । उसको बोल्ने शैलीमा पनि भाङ मिसिएको थियो होला सायद । उसको बोलीको खुलेरै प्रशंसा गर्थे गाउँले । नाच्न र गाउनमा सबैभन्दा अगाडि थिई ऊ । बाल्यकालमा उसलाई कुनै दिन निराश हुनु परेन । नाम पार्वती भए पनि सबैले उसलाई सानी भनेर बोलाउँथे ।

समय घर्किदै गयो । सानी बिस्तारै ठुली हुँदै गई । उसका रहरहरू फेरिदै गए । कुनै निश्चित समयपछि सायद सबै मानिसका रहरहरूको सीमा अलि फराकिलो हुन्छ । अथवा भनौं, बाल्यकाल सकिएपछि हामीले एक्कासी थुप्रै शारीरिक परिवर्तनको सामना गर्नुपर्छ । दिमाग कच्चा भए पनि समाजले हामीलाई मानसिक रुपमा फरक हुन वाध्य बनाउँछ । शारीरिक र मानसिक स्थितिसँगै हाम्रा रहरहरू परिवर्तन हुन्छन् । मानौं, सानीलाई पनि त्यस्तै भएको थियो । अब उसलाई अरुले सानी भनेर बोलाएको मन पर्न छोडिसकेको थियो । अरुमा जस्तै उसमा पनि शारीरिक रुपमा एक भारी परिवर्तन आएका थिए । ऐनामा हेर्दा पुक्क उठेका गाला, गोला आँखा, हिस्सी अनुहार र चौडा छाती देखेर अकस्मात नङ टोक्थी । फेरि झट्टै कसैले देख्ला कि भन्ने डरले ओंठबाट औंला हटाउँथी ।

उमेरसँगै सानीको स्वभाव अन्तर्मुखी हुँदै गयो । सानी घरबाट बाहिर निस्किन छोडी । नाच्ने स्वभावलाई एक्लै लुकेर गीत गाउनमा सीमित राखी । नौ कक्षा फेल भएपछि सायद स्कुल छोड्नुको कारण त्यही लाज होला । बिहानीपख पूर्वको क्षितिजमा रातो घेरा देखिने बेला आमाले चिच्याउँदै उठाउँथिन् ‘एइ स्यानी’ भन्दै । सानी उठ्थी । मुख धुनुभन्दा पहिले गोठमा भैंसीलाई पानी तताएर दिने, गोबर सोहोर्ने काम सकिसक्थी । दिउँसो भैंसी गोठालो बन्नु पढाइ छाडेपछिको उसको दैनिकी भएको थियो । उसका जीवनका हरेक दिन उसरी नै बितिरहेका हुन्थे – उठ्ने, गोठको काम सक्ने, दैलो कुचो गर्ने, दिउँसो गोठालो जाने आदि आदि ।

सानीमा अनौठो स्वभावको विकास भएको थियो । जब एक्लै हुन्थी, उसमा पुरुषको रुप घुम्ने गर्थ्यो । जंगलका रुखहरुसँग उसलाई जिस्किन मन लाग्थ्यो । ती निर्जिव रुखहरु पुरुष भैदिए हुन्थ्यो जस्तो लाग्थ्यो । प्राय जङ्गलमा एक्लै हुँदा कोही युवा आइदिए हुन्थ्यो भन्ने सोंच्थी । तर आफूमा पैदा हुने यस्तो भावलाई आफ्ना साथीहरु मैंया र दिलमायासँग कहिल्यै भन्दिनथी । ऊ बनमा चिलाउनेको पात टिपेर आफ्ना सुकेका ओंठमा च्याँप्ने गर्थी । पात बजाएकै आधारमा थुप्रै गीतहरूका भाका निस्किन्थे । उसले प्राय धुन निकाल्ने गीत हुन्थ्यो – ‘पिपलुको फेँदीमा बसेर सम्झी सम्झी रुन्छु धरर ।’ सानीले निकालेको पातको धुन हावामाथि पौडी खेल्दै धेरै टाढासम्म जान्थ्यो । उसको घरसम्म पनि ।

सानीको उमेर सोह्र पुग्न अझै केही महिना बाँकी थियो । एकदिन तल बेशीबाट पच्चिस काटेको युवा सानीको घरमा आयो । आमालाई नमस्ते गर्‍यो । सानीका बा प्राय घरमा बस्दैनथे । आमाले काम गर्दा गर्दा लखतरान भएको अनुहारलाई अलि चम्किलो बनाउन खोज्दै हतार हतार नमस्ते फर्काइन् । बडो आदरका साथ युवालाई दलानमा बसाइन् र सोधिन् –‘हजुर को होला खै ? मैले त चिनिन नि ?’
‘कृष्ण ।’ आमाको मुखमा हेरेर अलि बढ्ता मुस्कुराएर भन्यो ।
‘के कति काम थ्यो होला ? अहिले घरमा जहान हुनुहुन्न ।’
‘बुवासँग राम्रोसँग चिनजान छ आमा । म खास सानीको बिहेका बारेमा कुरा गर्न आएको ।’ उसले आमाको सम्बोधन जोडेर भनाइलाई अझ कसिलो बनायो ।
सानीकी आमा धेरै बेरसम्म मौन रहिन् । सायद उनलाई आफ्नी छोरी हुर्काएर ठुली बनाएपछि अर्काको घरमा पठाउनुपर्ने संस्कारले भतभती पोलेको हुनुपर्छ । या आफू पनि सानो उमेरमा बिहे गरेर आएको सम्झना एक्कासी उनको दिमागमा रन्थनिएको हुनुपर्छ । वातावरण शून्य थियो । लेकमा भएर होला बेशीमा जस्तो मान्छेहरूको चहलपहल हुँदैनथ्यो । युवा सक्दो भद्र बन्ने प्रयत्न गरिरहेको थियो । त्यतिकैमा अगाडि भैंसीहरू खेद्दै सानी झुल्किई । युवाले सानीलाई देखेर एकछिन टोलायो । सानी गोठतिर जाँदै गर्दा दलानमा कोही नयाँ मान्छे देखेर एक्कासी लजाई । एकपटक निहुरेर आफ्नो कपडा हेरी । भैंसी खेद्दै झन छिटो हिँडी ।

दोश्रो दिन सानीका बा आँगनमा बसेर दाम्लो बाट्दै थिए । रेडियोमा पूर्वेली गीत बजिरहेको थियो । दाहिने छेउमा बिँडीको ठेटोबाट धुँवाको एउटा घेरा अल्छी मान्दै आकाशतिर गइरहेको थियो । सायद त्यो धुँवालाई फोक्सोको भ्रमण गर्न मन लागेको हुँदो हो । घरको दक्षिणतिरको बाटो हुँदै उही युवा फेरि लखर लखर आयो । सानीका बालाई नमस्ते गर्‍यो । बाले नमस्ते फर्काउँदै बस्ने प्रस्ताव राखे । बासँग पुरानो चिनाजानी भएपनि युवालाई सानीको बारेमा कुरा गर्न अलिक भारी लागिरहेको थियो । उसले बिस्तारै बिहेको कुरा जोड्ने निर्णय गर्‍यो ।
‘के कामले पाल्नुभो बेशीबाट लेकमा ?’ सानीका बाले थाहा नपाएको स्वाँङ पारे ।
‘बुवा कुराको मेसो त हिजै मिलाउन खोजेको हो तर तपैलाई भेटिन ।’
‘परिवारले भन्दै थिइन् । घरतिर आरामै हुनुहुन्छ ?’
बाले कुरा हालखबरतिर जोडेपनि युवाले कुराको विषयवस्तु नै उठान गर्‍यो ।
‘केटा ठीक छन् बुवा । इन्डियन आर्मी हुन् ।’
इन्डियन आर्मी सुन्न बित्तिकै उनको ध्यान अलि बढी नै मोडियो । युवा भद्र बनेर उनीसँग बिहेको प्रसङ्गलाई नै संवादको हुलमा हुलिरहेको थियो । बिहेकै विषयवस्तुलाई एजेन्डा बनाएर दुवैजनाले धेरै बेरसम्म भलाकुसारी गरिरहे । सानीकी आमाले चिया टकारिन् । लगभग आधा घण्टापछि युवा गयो ।

तेश्रो दिन युवा वडा अध्यक्षको घरमा गयो । वडा अध्यक्ष रेडियो काननिर लगेर समाचार सुनिरहेका थिए । युवा मुस्कुराउँदै उनको नजिकै बस्यो र भन्यो – ‘कुरा हुँदैछ काका । सत्कारको र सानीको जोडी पनि मिल्छ । नौ पढेर छोडेपनि काममा साह्रै जाती रैछे । दिउँसो लेकतिर निस्किन्छु ।’ युवाको कुरा सुनेर वडा अध्यक्ष गमक्क परे । एक महिनाको छुट्टीमा परदेशको जागिरबाट आएको सत्कार पनि अलिकति मुस्कुरायो । युवा बोल्दै थियो – ‘काका चिन्ता गर्नु पर्दैन । कुरा मिलाइदिने काम मेरो भयो । केटी धेरै ठीक छिन् हेर्नुस् । एक दुई दिनमा छिनोफानो हुन्छ ।’
वडा अध्यक्षले टाउको हल्लाएर सहमत गरे । उनको धेरै बोल्ने बानी थिएन । वडा अध्यक्ष जस्तो मान्छे धेरै बोल्नुहुन्न तर बोलेको कुरा हुनैपर्छ भन्ने उनको आफ्नै मान्यता थियो । उनले भान्छामा खाना पकाउँदै गरेकी श्रीमतीलाई चिया बनाउनका लागि अह्राए । गाउँको विश्वासिलो मान्छे भएकाले आफ्नो छोराको बिहेका लागि वडा अध्यक्षले युवालाई प्रस्ताव गरेका थिए । हुन त युवाले धेरैका घरबार बसाल्न सहयोग गरेको थियो । गाउँमा बुज्रुकले उसलाई लमी भन्ने गर्थे । धेरै नपढेको भएपनि व्यवहारिक रुपमा युवा अगाडि थियो । सबैले उसको तारिफ गर्थे । वडा अध्यक्षलाई आफ्नो छोराका बिहेका लागि यो भन्दा इमान्दार मान्छे को लागोस ?

चौंथो दिन बिहानै युवा सानीको घरमा आयो । सानीका बा अगेनाको छेउमा बसेर सुल्फा तान्दै थिए । सानीकी आमाले चिया बनाउँदै थिइन् । बाहिरबाट युवाले घरभित्र को हुनुहुन्छ भन्दै बोलायो । सानीका बा–आमा एकछिन मुखामुख गरे र बा उठेर आए । युवाले उनलाई नमस्ते गर्‍यो । बाले नमस्ते फर्काउँदै बस्न आग्रह गरे । दलानमा बसेर दुवैजना धेरै बेरसम्म खासखुस गरिरहे । सानी गोठतिरबाट दुधको बाल्टिन समातेर घरभित्र छिरी । आमानिर पुगेर टुसुक्क बसी । आमाले बाल्टिनको दुध कुँडेमा खन्याइन् । सानीले सोधी – ‘त्यो बाहिर आएको मान्छे को हो आमा ?’ आमा केही बोलिनन् । बाहिर गरेको गुनगुन नबुझिए पनि त्यसको केही हिस्सा हावाले भित्रसम्म ल्याइरहेको थियो । सानीलाई यस्ता कुरा कान थापेर सुन्नुपर्छ भन्ने लागेन । यदि लाग्दो हो त, उसले सुन्दी हो यिनीहरुले के कुरा गरिरहेछन् भनेर । चिया पाक्यो । आमाले सानीलाई गिलासमा चिया हालेर बाहिर लैजान अह्राइन् । सानीले आमाको मुखमा हेरी र गिलास समातेर बाहिर निस्की । आमाको अनुहारमा रात परको थियो । सानीका बा र युवाको गफ अझै सकिएको थिएन ।
मध्यान्हतिर सानीले बजाएको पातको धुन सुनिन थाल्यो । उसले प्राय विरहका गीत बजाउने गर्थी । कर्मलाई दोष दिने गर्थी । मानौं, सानी आफ्नो कर्मदेखि खुसी छैन । उसलाई आफ्नो दिनचर्या मन परेको छैन । युवाले पनि एउटा पात टिप्यो । बजाउन खोज्यो तर जानेन । सानीले अकस्मात युवालाई देखेर हड्बडाई । सानीका अगाडि उसले कल्पना गरेको पुरुष एक्कासी प्रकट भइदिँदा उसमा एक किसिमको हडबडाहट भयो । ऊ बोल्न सकिन । काल्पनिक र वास्तविक व्यवहार फरक हुँदो रहेछ भन्ने उसले बुझी । तर युवाले सानीको मनभित्रको दमित चाहनालाई नबुझेर पात बजाउन सिकाउन आग्रह गर्‍यो । उसको त्यो आग्रहले सानीको डर अलिक पर रुखनिर गएर टुक्रुक्क बस्यो । डर भागेपनि सानी बोल्न सकिन । सायद डरसँगै उसको आवाज पनि भागेछ क्यारे ।
‘तिमी त कस्तो राम्रो पात बजाउँदो रहेछौ । तर किन नि यस्ता विरहका गीत मात्र तिम्रो धुनमा ?’
सानी लज्जाई । उसको लुप्त गुण अथवा भनौं लज्जाले उसको अनुहारलाई रातो बनाइदियो । युवा सानी लजाएको हेरेर मुस्कुराइरहेको थियो । उसले फेरि पात ओंठमा च्यापेर बजाउन खोज्यो । सानी हाँसी । युवाले सानीको कामुक रुपलाई आफ्ना आँखाले सम्भोग गरिरहेको थियो । सानीले बिस्तारै भनी – ‘गुराँसको हैन चिलाउनेको पात बज्छ ।’
सानी हिँडेर अलि पर पुगी । युवा एकछिन केही बोल्न सकेन । केही छिनपछि म भोलि आउँछु भन्दै त्यहाँबाट गयो तर उसको दिमागबाट सानीको कामुक रुपको बिम्ब हट्दै हटेन ।

पाँचौ दिन युवा दिउँसो दिउँसो तीन बजेतिर सानीको घरमा आयो । अगेनामा मकै भुट्न लागेकी सानीकी आमा खिस्स हाँस्दै बाहिर आइन् । सानीका बासँग युवाले केटो, उसको बानी, परिवारको मान मर्यादा, दाइजो आदि सबैका बारेमा विस्तार गरिसकेको थियो । उसले आमासँग पनि फेरि यिनै कुरा मुख्य समाचार झैं दोहोर्‍याउनु पर्छ भन्ने ठानेन । सानीकी आमाले युवालाई गुन्द्रीमा बस्न आग्रह गरिन् र भनिन् – ‘जमाना कोल्टे फेरिसक्यो बाबु । हाम्ले भनेर मात्र भएन ।’
युवाले सानीकी आमाको कुरालाई टाउकोको इशाराले सहमत जनाउँदै थप्यो – ‘आमा तपाईले केही चिन्ता लिन पर्दैन । मैले राम्रोसँग बुझेको छु । केटा धेरै ठीक छन् हेर्नुस् । छोरीको जात आखिर उमेर पुगेपछि माइतमा बस्ने कुरा पनि भएन ।’
सानीकी आमा फेरि भित्र पसिन् । अगेनाको छेउमा टुसुक्क बसिन् । धुँवाले रसाउन खोजेका आँखा पुछ्दै सानीका बालाई हेरिन् । बाले युवालाई घरभित्र बोलाए । तीन जना अगेनाको ओदान जसरी तीनतिर भएर बसे । सायद सानीकी आमाको मन पनि आगोले तातेको ओदान झैं हुँदो हो ।

सानी आई । घरभित्र छिर्न भन्दा पहिले नै ‘आमा’ भन्दै बोलाई । आमा बोलिनन् । सानी पसिनाले निधार ढाकेको कपाल मिलाउँदै भित्र छिरी । आमाले सानीको मुखमा हेरिन् । आइस् ? भन्दै बस्न अह्राइन् । सानीले घरभित्र उही युवालाई देख्दा अक्कमक्क परी । अलिकति धकाई । आमाको आग्रहलाई नसुनेझैं गर्दै सानी फर्केर आफू सुत्ने कोठामा गई । भर्‍याङ उक्लेको आवाज सुनेर सानीकी आमाले पुलुक्क बुढाको मुखमा हेरिन् । युवालाई माखाको पित्त जति पनि अप्ठेरो लागेको थिएन । उसले केटीका बा–आमासँग कुरा गरेर बिहे गराइदिने काममा राम्रो अनुभव हासिल गरेको थियो । त्यसैले ऊ लमी कहलिएको थियो ।
‘यस्तै हो आमा । केटी मान्छे लजाएको नै राम्रो हुन्छ भन्छन् ।’ – युवाले यो वाक्य भनिसक्दा आफ्ना आँखा आमाको अनुहारबाट बाका अनुहारसम्म पु¥याइसकेको थियो । सानीकी आमा एकदमै भारी हाँसो हाँसिन् । रुन हुँदो हो त सायद उनी बेस्मारी रुन्थिन् होला अन द स्पट । सानीका बाले युवालाई उसकै कोठामा गएर सम्झाउन आग्रह गरे । युवा उठ्यो र सानीको कोठा खोज्दै बाहिरियो । दलाननिरको भर्‍याङ उक्लिँदै युवा सानीको कोठामा गयो । सानी आफू सुत्ने खाटमा हातका औंला चलाउँदै बसिरहेकी थिई । युवा सुस्तरी गएर सानीको छेउमा बस्यो ।
‘तिम्लाई त खुबै लाज लाग्दो रैछ ।’ सानीले कोठामा आएको चाल पाएर पनि प्रतिकृया नदिएपछि युवाले आफै कुराको थालनी गर्‍यो ।
‘तपाई को हो र ?’ सानीले आँखा घुमाएर एकपटक युवालाई हेरी र फेरि चलाएका औंलामा हेरी ।
‘यति राम्री सानीको एउटा लाउरेसँग बिहे गराइदिम् कि भनेर तिम्रो घरमा धाएको धायै छु ।’ यो वाक्य भनिसक्दा युवाले कोठाको ढोका लगायो । र सानीलाई सुस्तरी धाप मार्‍यो । युवाको धापले सानीको आवाज रोकियो । आजसम्म सानीलाई त्यस्तो अनुभव कहिल्यै भएको थिएन । एक्कासी उसको अनुहार रातो भयो । शारीरिक रुपमा युवा सानीसँग आकर्षित भए पनि आफ्नो सन्तुलनलाई उसले डगमगाउन दिएको थिएन । सानी जुरुक्क उठी । अलि पर कुनामा गएर अभिई ।
‘हेर सानी, बिहे पछि त बहुत रमाइलो हुन्छ । एक्लो भइँदैन । लाउरे हो घुमाउन लैजान्छ शहरतिर ।’ युवाले यत्ति भन्यो । तर सानीको ध्यान युवाको कुरामा थिएन । युवा बसेको ठाउँबाट सरेर सानी उभिएनिर बस्यो । सानीको हात समाएर बस्न आग्रह गर्‍यो । सानी उसकै छेउमा बसी । युवाले सानीको गालामा केटाकेटीलाई झैं सुस्तरी छोयो । सानीले युवालाई एक तमासले हेरिरहेकी थिई । बिहे गर्नुपर्छ, केटीले खाने भनेको नै अर्काको सम्पति हो यस्तै यस्तै कुराको खुराक बनाउँदै उसले सानीलाई सम्झाइरहेको थियो । तर सानीको दिमाग पूर्ण रुपमा युवाको शारीरिक आकर्षणमा गडेर बसेको थियो । बुझ्ने भएपछि अथवा भनौं शारीरिक परिवर्तन आएपछि सानी पहिलोपटक कुनै युवासँग यति नजिक भएकी थिई । सायद उसले युवाबाट नयाँ अनुभवको आशा राखेकी थिई । युवाले एकपटक आफ्नी श्रीमती र छोराछोरीलाई सम्झ्यो । तत्काल सानीलाई हेर्‍यो । यति छोटो समयमा उसले आफ्नी स्वास्नीसँगको नाता भन्दा सानीसँगको नाता अझ नजिकको भएको महशुस गर्‍यो । युवालाई डर लागिरहेको थियो । अरुले दिएको विश्वासको पुलमा टेकेर उसलाई नदी पार गर्नु थिएन ।
‘सानी के छ विचार ?’
‘मलाई त दाँत टोक्न मन लागिरहेको छ ।’ सानीले कामुक भाषामा प्रतिक्रिया दिई ।
‘हामी तिम्रो घरमा छम् सानी । यहाँ तिम्रो बुवाआमा हुनुहुन्छ ।’ युवाले भित्री आगोलाई दवाएर समाजको कुशल पात्र बन्दै सानीलाई सम्झाउन खोज्यो ।
‘कोठाको चुकुल लगाउन मिल्छ नि ।’ उसले युवालाई विश्वास दिलाई ।
युवाको मानसपटलमा दुई थरी विचारहरूको भिडन्त भइरहेको थियो । सानी युवाको व्यवहारसँग पूर्ण रुपमा सन्तुष्ट थिई । मन आतुर थियो । युवाले छुँदा पनि उसलाई एकदमै रमाइलो अनुभव भएको थियो । उसको स्वास सानीलाई महंगो पर्फ्युम  जस्तो लागिरहेको थियो । उसका हातहरू चुम्बकीय । युवालाई बेस्मारी टोकूँ, बाघले झैं झम्टेर उसलाई खाटमा पल्टाउँ, यस्तै यस्तै भएको थियो । युवाले सानीलाई धेरै बेरसम्म हेरिरह्यो । साँच्ची सानीका आँखा क्रोधित थिए । ओंठ तिर्खाएको थियो । मन आत्तिएको थियो । आगोको छेउमा नौनी राख्यो भने त्यो जरुर पग्लिन्छ । युवाका लागि सानी आगोजस्तै भई । सानी आगो मात्र भएकी थिइन । ज्वाला भएकी थिई । उसभित्रको लुप्त राप दन्किरहेको थियो । वातावरण शान्त थियो । दुवैले होश गुमाएका थिए । धेरै बेरसम्म दुवैजना केही बोलेनन् । एकछिनपछि युवाले सानीको पाखुरामा समायो । सानी ढली । त्यतिकैमा ढोका ढकढक गर्दै सानीका बा चिच्याए– ‘सानी ।’
बाको तिखो आवाजले सानी झसङ्ग भई । भर्खरसम्म उसमा देखिएका ती दमित चाहनाहरू एकाएक भाग्न थाले । केही चाहनाहरू झ्यालको बाटो हुँदै भागे । केही ढोकातिरैबाट भागे । सानी बाले दोश्रो पटक बोलाउँदा मात्र बोल्न सकी । युवाले ढोका खोल्दै भन्यो – ‘धकेल्नुभएको भए हुन्थ्यो नि ।’ यतिबेला सानी पूर्ण रुपमा निको भइसकेकी थिई ।
‘कुरो त बुझिस् होला ?’ बाले सानीलाई सम्झाउन खोजे ।
सानी धेरैबेरसम्म केही बोलिन । कम्तिमा दुई मिनेटजति कोही बोलेनन् । सानीका बा अझैसम्म ढोकानिर उभिरहेका थिए । केही छिनको मौनतापछि सानीले पुलुक्क बुवाको मुखमा हेरेर फेरि भुँइतिर हेर्दै भनी – ‘हुन्छ ।’ सानी सहमत भएको आमाले प्रष्टसँग सुनिन् । उनका आँखामा केही आँसुका थोपाहरु बस्न मानेनन् । युवा र सानीका बा आगनको छेउनिर आएर कुरा गर्न थाले । सानीले भने त्यही लमीलाई धेरैबेरसम्म याद गरिरही । उसको दिमागमा लमीको बिम्ब गडेर बसेको थियो ।
Powered by Blogger.