Header Ads

Breaking News
recent

प्रेम पाप हो भने संसारमा पुण्य भन्ने कुनै कुरा छैन

हाम्रा कथित कर्मकाण्डी पुरेत, पण्डित तथा धर्मका ठेकेदारले युवा-युवतीको प्रेम, उनीहरूको शारीरिक सम्बन्धलाई पापको नाम दिए । त्यसैले आज पनि पूर्वीय र पश्चिमा समाजका कतिपय युवा-युवती प्र्रेम गर्नुअघि समाजले के भन्छ, अभिभावकले के भन्छन् भनेर सोच्न थाल्छन् । जब प्रेममा चिन्ता र चिन्तन सुरु हुन्छ, तब प्रेम प्रेम रहँदैन । नाप-तौल व्यापारमा हुन्छ, प्रेममा होइन । प्रेम यदि पाप हो भने संसारमा पुण्य भन्ने कुनै कुरा छैन ।

आखिर प्रेम कसले गर्दैन, सबैले गर्छन् । सबै पापी भए । प्रेमका कारण हामीले संसारमा पापीहरू जन्माउन थाल्यौं । प्रेम कसले कसलाई गर्दैनन् र ? बुवाले छोरीलाई प्रेम गर्छ । आमा छोरासँग प्रेम गर्छिन् । गुरु शिष्यसँग प्रेम गर्छ । सम्बन्ध मात्र प्रेमको थियो तर प्रेममाथि शंका गर्न थालियो । यसले पाप जन्माउँदै लग्यो । सारा संसारलाई हामीले पापले भरिदियौं । केवल एउटा सानो भूल गर्‍यौं, प्रेमलाई पापको नजरले हेरिदियौं ।

जब प्रेमलाई हामीले प्रार्थनाबाट अलग गर्‍यौं, प्रार्थना गुदी बिनाको फल बन्न पुग्यो । प्रार्थनाभित्र प्रेम नरहेपछि त्यसभित्र प्राण नै बाँकी रहेन । प्रत्येक प्रेम सुरु हुनुअघि नै प्रश्न उब्जिन्छ, मैले ठीक त गरिरहेको छु ? कतै म गलत त छैन ? कति दुर्भाग्य, यही एउटा कारणले पृथ्वी धार्मिक हुन सकेन । प्रेमलाई पवित्र र स्वच्छ बनाइदिएको भए आज धर्मको यो दुर्गति हुने थिएन । जति चाँडो मानिसको मनबाट यो भ्रम हट्छ, मानिस त्यति नै चाँडै सुखी हुन्छ ।

म घोषणा गर्छु, जहाँ प्रेम छ, त्यहाँ पापको छाँया पनि रहँदैन । म घोषणा गर्छु, प्रेम पाप होइन, पुण्य हो । मेरो कुरालाई गलत रूपमा नबुझ । जब म प्रेमलाई पुण्य भनिरहेको हुन्छु, त्यति बेला मैले यो भनिरहेको छैन कि प्रेम सत्तप्रतिशत सुन हो । प्रेम अशुद्ध सुन हो । त्यो प्रेमलाई परिशुद्ध गर्नुपर्छ । प्रेमको पछाडि शुद्ध सुन लुकेको छ ।

त्यसो भए, प्रेम भित्र लुकेको फोहोर के हो त ? प्रेममा रहेको पीडा, तडप, आक्रोश, घृणा सबै प्रेमका फोहोर हुन्, जसलाई तिमी प्रेम गर्छौ, उसलाई घृणा पनि गर्छौ । कसरी ? जब तिमीले सोचेजस्तो हुँदैन, तिमीभित्र घृणा उत्पन्न हुन्छ । रिस उठ्न सक्छ । पीडा हुन्छ । छटपटी हुन्छ । यस्ता धेरै अप्ठ्याराबाट गुज्रनुपर्छ । जब प्रेममा यी कुरा आउँछन्, सम्झनु, त्यो बेला प्रेमभित्रको विकार देखिँदैछ । प्रेममा छटपटी, पीडा, आक्रोश र घृणा किन उत्पन्न हुनु र ? त्यसो हुनु नपर्ने हो तर हुन्छ । त्यही नै प्रेमको फोहोर हो ।

प्रेममा तिमी विरहको अग्निमा जल्न थाल्छौं, त्यो बेला प्रेममा शुद्धता आउन थाल्छ । प्रेममा रहेका खराब तत्व जल्न थालेपछि तिमीमा प्रार्थनाको जन्म हुन्छ । जुनबेला प्रेममा प्रार्थना जन्मिन्छ, सम्झनु, त्यो प्रेम शुद्ध हुन थाल्यो । जबसम्म आफ्नो अहं भाव त्याग्दैनौं, तबसम्म तिमी असल प्रेमी हुन सक्दैनौं ।

जुन दिन प्रेममा तिम्रो इगो समाप्त हुन्छ, जुन दिन तिमी प्रेममा प्रार्थना गर्न थाल्छौं । त्यही दिन तिमीलाई प्रेमको असलीयत थाहा हुन्छ । तिम्रो मन हलुको हुन्छ, चंगा झैं उड्न थाल्छ । तिमी धन्यवाद दिन थाल्छौं, प्रेमको अहोभाव उत्पन्न हुन थाल्छ । तिमी कसलाई प्रेम गर्छौं, यो मतलबको कुरा होइन, प्रेम कति शुद्ध छ, त्यो मात्र मतलबको कुरा हो ।

कुनै बुद्ध पुरुषले प्रेमलाई पाप भनेको मलाई थाहा छैन, तैपनि समाजमा प्रेम गर्न डराउनुपर्छ । आखिर प्रेममा डर, त्रास, अवरोध कहाँबाट आयो ? समाजको मनोविज्ञानमा प्रेमका बारेमा यति गहिरो गलत धारणा गढेको छ कि हजारौं वर्षदेखि यो त्रास हटाउने प्रयत्न गर्दा पनि मानिसले बेला-कुवेला आफ्नो रूप देखाइहाल्छ ।

आम मानिसको प्रेमलाई हेर्ने हो भने कुरा ठिकै हो भन्ने पनि लाग्न सक्छ । सामान्य मान्छे यौनको आवेग शान्त गर्न जे-जे प्रयत्न गर्छ, त्यसलाई समाजले प्रेमको नाम दिन्छन् । यो प्रेममा एक प्रतिशत प्रेम होला तर ९९ प्रतिशत विकार मिसिएको छ । प्रेमको उद्देश्य अन्तत: केवल यौनको उद्वेग शान्त गर्ने प्रयास हुन्छ भने त्यो प्रेममा फोहोर हुनु स्वभाविक पनि हो । नत्र एकपटक प्रेम भएपछि उनीहरूबीच घृणा उत्पन्न नहुनुपर्ने हो । आज परिवारमा जति पनि कलह छ, त्यो प्रेमका नाममा यौनको खेल मात्र भएका कारण उत्पन्न भएको छ । मेरो आँखाले देखेको कुरा, विवाह प्रेमको कलंक हो । जुन बेलादेखि समाजले विवाहको नियम बसायो, त्यही बेलादेखि युवा-युवतीको प्रेमको मृत्यु भयो ।

प्रेम यति चाँडै कसरी घृणामा परिवर्तन हुन्छ ? आश्चर्य होइन ? प्रेम घृणामा रूपान्तर हुनसक्छ भने त्यो कस्तो प्रेम हो ? वास्तवमा प्रेमअघि घृणा नै थियो । प्रेमलाई मुखौटा बनाएर नाटक मात्र गरिएको थियो । प्रेमको नाममा तिमी कसैको शोषण त गरिरहेका छैनौ ? प्रेमको नाममा एक-अर्काको मालिक बन्ने प्रयत्न त गरिरहेका छैनौं ? प्रेम शब्द आफैंमा धेरै आकर्षक शब्द हो । 'म तिमीलाई प्रेम गर्छु' भनेरै कसैको शोषण गर्न सकिन्छ वा उ सजिलै आफ्नो चंगुलमा फस्छ ।

आफ्नो सन्तानलाई कसैले प्रेम गर्छु भन्छ भने पनि शंका गर्नु पर्ने हुनसक्छ । बच्चासँग प्रेम छैन, त्यो त आफूलाई प्रेम गरेको हो । 'यो सन्तान मेरो हो' भन्ने अहंकारका कारण त्यो प्रेम पलाएको हो । भोलि सन्तान बिगि्रएर ड्रगिस्ट होस्, तब उनीहरूको मनमा जुन चोट पर्छ, त्यतिबेला उनीहरू नै भन्छन्, 'मलाई दु:ख दियो, मलाई बरबाद पार्‍यो ।' प्रेम छोरालाई गरेको भए उसले कसरी दु:ख दियो, कसरी बरबाद पार्‍यो ? भोली उ मन्त्री भयो भने बाऊ फुलेल हुन्छ, मेरो छोरो मन्त्री भयो । बाऊ किन खुसी भयो, किनभने छोरा मन्त्री भयो । 'उसको' छोरो मन्त्री भयो, उसको सत्रुको छोरो भएन । यो हो अहंकार ।

सन्तान गलत काम गरेर जेल गयो अथवा मन नपरेकी बुहारी ल्यायो भने बाउले भन्छ, त्यो मेरो छोरै होइन । अथवा त्यो आजदेखि मेरा लागि मर्‍यो । यो प्रेम हो कि अहंकार ? तिमी विचार गर, तिमी प्रेम गरिरहेका छौं कि घृणा रोपिरहेका छौं । तिमी प्रेम गरिरहेका छौ कि अहंकारलाई तृप्त बनाइरहेका छौं ? तिमी प्रेम गरिरहेका छौं कि शोषण गरिरहेका छौं । सोच... त्यसपछि मात्र प्रेमको अर्थ प्रकट हुन थाल्छ ।

प्रेमको अर्थ हो-म कसैको जीवनमा आनन्दित छु । आकारण आनन्दित छु । प्रेम हुनका लागि आफ्नो प्रेमी हुनुपर्दैन, आफ्नो सन्तान नै हुनुपर्दैन । अकारण नै प्रेम हुन्छ । कुनै कारणबस प्रेम हुन्छ भने त्यो हो मोह, अकारण प्रेम हुन्छ भने त्यो हो प्रेम । प्रेम निर्मोही हुन्छ ।

आजभोलिको प्रेम चिसो दाउरा बाल्न गरिएका प्रयत्न जस्तै हो । चिसो दाउरा बाल्दा धुँवा निस्कन्छ, सुकेको दाउरा राम्रोसँग बल्छ । यदि तिमीले गरेको प्रेममा अहंकार, शोषण वा मोह छ भने त्यो काँचो दाउरा भयो । त्यसमा जबरजस्ती आगो बाल्न खोज्दा धुँवा आउँछ । ती सबै कुरा छैन भने त्यो दाउरा सरक्कै बल्छ । तिम्रो प्रेम कस्तो हो, त्यो तिमी आफैले नै पर्गेल्नुपर्छ ।
Powered by Blogger.