इ-लभ
उनीसँग च्याट गर्न थालेको पनि पुग नपुग एक वर्ष भैसकेको थियो होला । उनले
मलाई सिकाएकी थिइन् प्रेमको वास्तविक रुप । म प्रेमको मामिलामा आफूलाई
नाबालक ठान्थें । चलचित्रहरूमा घटाइएका काल्पनिक कथावस्तु नै मैले प्रेम हो
भन्ने बुझेको थिएँ तर वास्तवमा प्रेम फरक रहेछ ।
उनी अर्थात रोजा । मलाई उनले आफ्नो नाम रोजा भन्दै परिचय दिइन् । खासमा
उनको नाम रोजा होइन रहेछ । भ्रमले मान्छेलाई हुँदै नभएको कुरा पनि हो भन्ने
पारिदिँदो रहेछ । उनले यो नाममा आफूलाई अथ्र्याएकाले होला मलाई यो नाम औधी
मन पर्यो । वाह । क्या मिठो नाम रोजा । मलाई उनको नामको अर्थ थाहा थिएन ।
नाम मन पर्नलाई अर्थ थाहा हुनु जरुरी रहेनछ । मैले उनको नामसँग प्रेम
गर्थें । उनको तस्वीरसँग प्रेम गर्थें । उनको आवाजसँग प्रेम गर्थें ।
त्यसैले उनी मेरो इ-लभर थिइन् ।
रोजा नर्सिङकी विद्यार्थी थिइन् । म साहित्यको । हाम्रा रुचिहरू फरक बाटो
गइरहेका थिए तर उनको र मेरा भावना सधैं एकै हुन्थ्यो । दुरीको हिसाबले उनको
र मेरो दुरी पूर्व र पश्चिमको थियो तर मनको दुरी एकदमै नजिक । पूर्वको
विराटनगर र पश्चिमको पोखराका कुनै दुई जिवित आत्माहरू निष्फिक्री प्रेम
गरिरहेका थिए गोप्य रुपमा । हामीलाई नजिकिन सोसियल साइटहरूले सक्दो सहयोग
गरिरहेका थिए । सायद हामी दुई इन्टरनेटको पहुँचबाट टाढा भइदिएको भए यो
कथाको जन्म हुने थिएन । हाम्रो भेट आवाजको माध्यमबाट हुन्थ्यो । च्याटको
माध्यमबाट हुन्थ्यो । कहिले भेट नभएको हाम्रो जोडी यसरी आफ्नो मायाको
अभिव्यक्ति गर्थ्यो कि मानौं हाम्रो जस्तो जोडी अरु कसैको छैन ।
प्रेममा सबैभन्दा धेरै प्रयोग हुने कथन सायद आइ लभ यु होला । म उनलाई म
तिमीलाई माया गर्छु भन्दिनथें । छोटकरीमा ‘लभ यु’ भन्थें । उनले
प्रत्युत्तरमा भन्ने गर्थिन् – ‘लभ यु टु’ । उनीसँगको च्याट अझै पनि मेरो
दिमागको कुना कुनामा गडेर बसेको छ । च्याटमार्फत गरिएका सम्झौताहरू केवल
मनमा मात्र नमेटिने गरेर बसेका छन् । अब ती सम्झौताहरू पूरा गरिरहनु पर्ने
जरुरी भएन । उनले मलाई मायाले पागल भनेर बोलाउने गर्थिन् । हो, म उनको
मायामा पागल थिएँ । मैले पनि उनलाई पागल भन्ने गर्थें । हामी पागलबाट हरेक
पटक च्याटको उद्घाटन गर्ने गर्थ्यौं ।
‘पागल’
‘हजुर’
‘तिम्रो यादले सगरमाथा छुनै आँट्यो ।’
‘तिमीलाई झन धेरै याद गर्दैछु । यादको रास दुई सगरमाथा हुन लाग्यो ।’
‘नर्सहरूले त धोका दिन्छन् रे !‘
‘म अरु केटी जस्तो छैन ।’
उनले प्राय आफ्नो व्यवहार अरु केटीको जस्तो नभएको बताउने गर्थिन् ।
उनका हरेक विश्वासलाई म आँखा चिम्लेर निल्न सक्थें । उनीसँगको पहिलो भेट
च्याटमा भएको थियो । हामी कसरी साथी बन्यौं त्यति हेक्का भएन । कुरा गर्दै
जाँदा कुरामा रस पस्दै जाँदो रहेछ । बिस्तारै सामान्य कुराहरू भावनामा बग्न
थाल्ने रहेछन् । शुरु शुरुमा हाइ हेलोमै कुरा सकिन्थे । बिस्तारै भावनाहरू
जन्मिन थाले । च्याटकै माध्यमबाट हामी झन झन नजिकियौं । नजिक भएको
मान्छेसँग सायद खुलेर कुरा गरिन्छ क्या रे । उनीसँगको च्याट बिल्कुलै फरक
हुने गर्थ्यो । रमाइला क्षणहरू सेयर गर्दा गर्दै घण्टौं बितेको पत्तो
हुँदैनथ्यो । उनले जोक्सहरू सुनाउने गर्थिन् । शब्दको झट्काले मेरो
वास्तविक जीवनमा परिवर्तन ल्याइदिन्थ्यो । मलाई देख्नेले किन हाँसेको भनेर
सोध्थे । म यत्तिकै भनेर टारिदिन्थें ।
महिनौपछिको च्याटमा एकदिन मैले उनलाई सोधें – ‘व्यायफ्रेण्ड बनाको छौ ?’
‘जेपिटी ।’
‘ओ भनेपछि लभमा रुचि छैन होला है ।’
‘तिम्रो त गर्लफ्रेन्ड छ होला ।’
‘नाइँ, मैले त भनेजस्तो केटी नै पाएको छैन ।’
‘कस्ती चाहिएको नि ?’
‘तिमी जस्ती’
‘हेइ, मजाक नगर न ।’
‘म मजाक गर्दिन ।’
शुरुमा उनीसँग मजाक गर्न एकदमै रमाइलो लाग्थ्यो तर त्यही मजाक वास्तविक
भैदियौ । ठट्टा गर्दागर्दै हाम्रो माया बस्यो । उनको मनले मेरो मनसँग साइनो
गाँस्यो ।
एकदिन उनले मलाई प्रस्ताव राखिन् । मैले विश्वास गरिन । हुन त मैले उनलाई
ख्यालख्यालमा लभ यु भन्दा उनले पनि लभ यु टु भन्ने गर्थिन् । त्यो दिन पनि
हामी दिनभरी च्याट गरिरहेका थियौं । साँझ म सधैजसो होटलमा चिया पिउन जाने
गर्थें । उनले मलाई फोन गरेर अनलाइन आउन भन्थिन् । म गुरूको आज्ञाकारी
छात्र जस्तो उत्तिखेरै अनलाइन भइदिन्थें । उनले प्रेमप्रस्ताव राखेपछि मैले
ठाडै स्वीकार गरें । किनकि म उनको पहिलेदेखि नै फ्यान भएको थिएँ । उनको
फोटो देखेर ।
हामी मायाका कुरा गर्थ्यौं । रमाइला कुरा गर्थ्यौं । जिन्दगीका कुरा
गर्थ्यौं । बिहेका कुरा गर्थ्यौं । फोनमा घण्टौं कुरा गर्थ्यौं । च्याटमा
लेखिने शब्दहरू मलाई घोक्न पर्दैनथ्यो । एकछिन टाढा हुनुपर्दा छटपटी
हुन्थ्यो । ओहो माया भनेको यस्तो पो रैछ । म हरेक दिन पाठ सिकिरहेको
हुन्थें । म मायाको संसारमा हराउथें । कहिलेकाहीँ भने आफूलाई मूर्ख ठान्थें
। जाबो भेट्दै नभेटेको केटीसँग माया बस्छ ? त्यो पनि यति गहिरो ? तर
हाम्रो माया झन भन्दा झन गाढा हुँदै गइरहेको थियो ।
‘मलाई हाम्रो माया यति डिप जाला जस्तो लागेको थिएन पागल । धोका त दिँदैनौ होला नि है ?’ उनले च्याटमा लेखेर पठाइन् ।
‘तिमी मेरो पहिलो प्रेम हो । तिमी मेरो गुरू हो । म कसरी भुल्न सक्छु तिम्लाई भन त ?’ गाला अलिक पुक्क बनाउँदै लेखेर पठाएँ ।
‘होना था प्यार भन्ने गीत सुनेको छौ ? मलाई यो गीत एकदमै मन पर्छ । आखिर
हामीमा पनि त प्यार हुनै थियो नि ।’ स्माइलीसहित लेखेर पठाइन् ।
अब मलाई त्यो गीत खोज्नु थियो । उनलाई मन पर्ने गीत मलाई पक्कै मन
पर्नुपर्छ किनकि मलाई उनी मन पर्छ । उनलाई मन पर्ने जून मन पर्छ । उनलाई मन
पर्ने धुन मन पर्छ । उनलाई मन पर्ने पुस्तक, चलचित्र सबै मन पर्छ ।
शिवरात्रीको दिन थियो । मलाई उनको मायाले धेरै भावनात्मक बनाएको थियो ।
म साथीहरूसँग टाढिँदै गएको थिएँ । साथीहरू चौरमा धुनी बनाएर उखु पोल्नमा
तल्लिन थिए । म भने उनको यादमा तल्लिन । उनले मलाई फोन गरिन् । फोन उठाएँ ।
एकदमै लर्बराउँदो आवाजमा उनले मलाई भनिन् – ‘पागल आइ लभ यु ।’ म छक्क परें
। आजसम्म उनले फोन गर्न बित्तिकै कहिल्यै यस्तो व्यवहार गरेकी थिइनन् ।
उनको आवाज कामुक थियो । मादक थियो । भएको के रहेछ भने शिवरात्रीको प्रसादले
उनलाई झ्याप बनाएको रैछ । फ्रायडको सिद्धान्त अनुसार मानिसले अचेतन
अवस्थामा गर्ने व्यवहार नै उसको वास्तविक व्यवहार हो भन्ने लाग्यो ।
लाग्यो, उनले मलाई साँच्चिकै माया गर्छिन् ।
दिनहरू बित्दै थिए । हाम्रो मायाको हिमाल अझै धेरै अग्लो हुँदै थियो ।
उनले गर्ने मायामा कतै पनि खोट थिएन । भेट्दै नभेटेको मान्छेसँग यसरी
काल्पनिक प्रेममा हराएर म आफूलाई कुशल प्रेमीका रुपमा प्रस्तुत गरिरहेको
थिएँ ।
एकदिन उनको साथीले मलाई ‘रोजाको विएफ छ’ भनी । मैले पत्याइन । तर उसले
त्यो केटा आफ्नै दाइ पर्ने हो भनेपछि आफ्नै मनले हकार्दै उसले भनेको ठीक
हुन सक्छ भन्यो । म बबुरो उसलाई भन्दा पनि मनलाई विश्वास गरेर तथ्य के हो
त्यसको उत्खनन गर्ने प्रयत्नमा लागें । केही घण्टापछि मैले उनलाई च्याटमा
सोधें । – ‘तिम्रो त विएफ छ रे !’
‘कसले भन्यो ?’
‘तिम्रो साथीले ।’
‘तिम्लाई मेरो भन्दा पनि मेरो साथीको विश्वास लाग्यो है ।’
‘त्यस्तो हैन ।’
‘पागल तिमी नै हो मेरो सबथोक ।’
मलाई च्याटको रिप्लाई दिने जाँगर चलेन । मेरो मन खिन्न भएको थियो । कसैले
मेरो चित्त नराम्रोसँग दुखाएको थियो । एकछिनपछि जोश बटुलेर ‘तिमी फेक रैछौ’
लेखेर पठाएँ र अफलाइन भएँ ।
मलाई रोजासँग धेरै दिनसम्म च्याट गर्न मन लागेन । बोल्न मन लागेन ।
उनको मिस्डकलको रिप्लाई दिन मन लागेन । त्यो समयमा सन्नाटा छाएको थियो । तर
मभित्र प्रतिवाद गर्न तयार भएको अर्को मनलाई भने उनीसँग एकदमै बोल्न मन
थियो । कुरा गर्न मन थियो । म लुकेर उनको प्रोफाइल हेर्ने गर्थें । सायद
उनीसँग टाढिएको चौंथो दिनतिर होला उनले स्टाटसमा लेखेकी थिइन् – ‘आइ लभ यु
बिनोद ।’
उनको त्यो स्टाटसले मलाई साँच्चै पागल बनायो । मलाई जो भेटौं, उसलाई
चिथोरुँ जस्तो भएको थियो । सम्हालिन धौ धौ भएको थियो । म चाहन्थें, उनले
मलाई चोखो प्रेम गरुन् । बिनोदको सट्टा पागल लेखुन् ।
पाँचौ दिन उनले मिस्डकल गरिन् । मैले मिस्डकलको रिप्लाई त गरिन तर
अनलाइन आएँ । उनले स्टाटस मेटाएकी थिइन् । उनले अफलाइन मोडबाटै लेखेर
पठाइन् – ‘पागल’
‘के ?’ मैले अझै रिस नमरेको भाव व्यक्त गरिरहेको थिएँ ।
‘बिनोद मेरो दाइ हो ।’ उनको यो वाक्यले म ट्ँवा भएँ । उनले भनेको कुरामा विश्वास गर्ने ठाउँ नै कहाँ थियो र ?
ढाँटेर के पाउँछौ ? मैले के गल्ती गरेको छु र ? झुटको अफिम मेरै मनमा फलाएर
मलाई नै जलाउन चाहन्छौ ? मलाई अझै के के भन्न मन थियो तर लेखेर पनि पठाउन
सकिन । यत्ति मात्र रिप्लाइ गरें – ‘ओके ।’ उनले केही कसम भनिने
पदावलीहरूको प्रयोग गर्दै विश्वास दिलाइन् । मैले होला भन्न वाध्य भएँ
किनकि उनले मलाई दर्शाउने मायामा कतै पनि धोकाको गन्ध थिएन ।
समय ढल्दै गयो । अब हाम्रो माया मौलाउन सकेन । मलाई रोजाको भन्दा पनि
बिनोदको मतलब लाग्न थाल्यो । बिनोद को हो ? उसको थर ? घर कहाँ हो ? के
साँच्चै बिनोद रोजाले भनेजस्तै दाइ नै हो त ? अन्ततः मैले पत्ता लगाएरै
छोडें बिनोदको फेसबुक आइडी । उसले आफ्नो टाइमलाइनमा रोजासँगको डेट जाँदाको
फोटो अपलोड गरेको रैछ । कुम जोडाएर खिचिएको फोटो र त्यसमा आएका कमेन्ट
हेर्दा जति नै विश्वास गरेको भए पनि विश्वासको ढोका फोडिने पक्का थियो ।
मलाई उठ्नसम्म रिस उठ्यो । मेरो मन खुन पिएको बाघ झैं गर्जन खोजिरहेको थियो
। तर उनीसँग रिसाएर समस्याको निवारण होला जस्तो लागेन ।
रोजालाई मैले विश्वास गरेको थिएँ । विश्वासका घरहरू क्रमिक रुपमा
भत्किन थाले । सुरुमा उनले मलाई आफ्नो नाम ढाँटिन् । ठीकै छ नाम त ढाँटिन्
नै । फेरि किन ढाँटिन् आफ्नो व्यायफ्रेन्ड भएको कुरा ? के उनलाई एउटा भए
पुग्दैन ? मलाई उनले माया गर्छिन् भन्ने कुरामा पनि रत्तिभर विश्वास लागेन ।
विश्वासको हाँगो नै कहाँ थियो र ? बडेमानको हुरीले छालेर सुकाइदिएको थियो ।
जब विश्वासको घर भत्किन्छ, त्यो घर जति नै बलियो संरचनाको भए पनि
ठड्याउन सकिदैंन । रोजासँग झगडा मात्र हुन थालेको थियो । कहिलेकाहीँ
राम्रोसँग च्याट भैहाल्यो भने पनि घुम्दै फिर्दै कुरा बिनोदसँग पुग्थ्यो ।
झगडाको बिजका लागि बिनोद नाम नै काफी थियो ।
एकदिन कुरै कुरामा मैले उनलाई भनें – ‘तिमी त बिनोदसँग सधै डेटिङ जान्थ्यो रे । ऊसँग सेक्स पनि भएको छ रे ।’
मैले यसो भन्दा उनी झोक्किँदै भनिन् – ‘कसले सुनाउँछ तिमीलाई यस्ता कुरा ?
डेट भएको थियो तर सेक्स भएन । पहिले नै ब्रेकअप भएको हो त्योसँग ।’
मलाई अब रोजासँग त्यति कुरा गर्नु उचित होला जस्तो लाग्दैनथ्यो । मन मर्दै
गइरहेको थियो । यद्यपि मैले गर्ने मायामा भने कुनै कमी आएको थिएन । मलाई
उनलाई कुनै पनि हालतमा गुमाउन मन थिएन । तर माया गर्छु भन्दैमा गलत नियत
भएकोलाई आत्मसात गर्नुपर्छ भन्ने पनि त छैन नि । उनीसँग झगडा मात्र हुन
थालेपछि मैले नै उनलाई ब्रेकअपको प्रस्ताब राखें । मानसिक रुपमा विक्षिप्त
बनाएका दुइ ओटा तत्व बिनोद र झुटबाट मुक्ति पाउने यो भन्दा राम्रो उपाय
सुझेन दिमागमा । मेरो प्रस्तावलाई उनी स्वीकार्ने पक्षमा थिइनन् । तर मैले
नै जिकिर गरेपछि उनी ब्रेकअपका लागि राजी भइन् । होला, औपचारिक रुपमा हामी
साथी मात्र बनौंला तर के उनीसँगको यति लामो साथलाई एकैछिनमा टुङ्ग्याउन
सकिएला ?
हाम्रो ब्रेकअपपछि उनी मसँग टाढिँदै गइन् । म पनि बिगतदेखि भाग्न नखोजेको
कहाँ हो र ? तर मलाई उनका प्रत्येक यादले घाँटीमा अठ्याउँथे । उनलाई भुल्ने
कैयन प्रयासहरू गरें । उनका सबै म्यासेजहरू डिलिट गरें । सबै तस्वीर डिलिट
गरें । फोन नम्बर, फेसबुक आइडी पनि डिलिट गरें । यार, यति गर्दा पनि उनको
याद मेरो दिमागबाट हटाउनै सकिन । सायद मलाई आशा थियो होला उनी फेरि मेरो
जिन्दगीमा आउनेछिन् । आफूलाई कुनै पनि हालतमा सम्हाल्न सक्छु जस्तो
नलागेपछि मैले उनीसँग फेरि मिलौं भनेर फोन गरें । नम्बर मोबाइलबाट त डिलिट
गरेको थिएँ तर दिमागको फोनबुकमा सेभ भएर बसेको नम्बर हटाउने इरेजर मैले
पाइन ।
‘पागल मैले तिमीलाई भुल्न प्रयास नगरेको होइन । जति तिमीलाई भुल्न खोजें,
उति नै तिम्रो याद झन बल्झेर आयो । तिमीलाई यति धेरै माया गर्छु भन्ने मलाई
थाहा थिएन । म तिमीलाई कुनै पनि हालतमा गुमाउन चाहन्न, पागल । हामी फेरि
मिलौं । अब म तिम्रो मन जिन्दगीभर दुखाउने छैन ।’ मैले बोलेका यी
वाक्यहरूको महत्व खस्किएछ । उनले ठाडै भनिन् – ‘तिम्ले ब्रेकअप गरौं भन्दा
ब्रेकअप गर्ने अनि प्याचअप गरौं भन्दा प्याचअप गर्ने के म तिम्रो खेलौना हो
?’ उनको यो बाक्यले मलाई बेस्मारी लात मार्यो । मैले उनलाई बुझाउन
खोज्नुको कुनै अर्थ छ जस्तो लागेन । हाम्रो सम्बन्ध खरानीको डोरी जस्तै
रहेछ । सानो हावाले पनि क्षतविक्षत बनाइदियो । अब हामी कुरा गर्नुको कुनै
उद्देश्य थिएन । अर्थात हामीमा कुरा गर्ने कुनै विषय नै हुन्थेन । सायद
ब्रेकअपको एक हप्तापछि होला । मैले उनको फेसबुक एकाउन्ट सर्च गरें । उनले
बिनोदसँगका केही युगल तस्वीरहरू अपलोड गर्न भ्याइसकेकी रैछिन् । उनको
फेसबुक वाल प्रेममय थियो । आइ लभ यु बिनोद, मेरो जिन्दगी आदि जस्ता
मायारुपी शब्दहरूले वाल रगींन थियो । सबैभन्दा मन छुने स्टाटस यो लाग्यो –
‘आइ लभ्ड यु, आइ लभ यु एण्ड आइ विल लभ यु । आइ लभ यु सो मच माइ लाइफ ।’
सायद प्रेम के हो मैले बुझिन । अनाडीलाई खेलाडीले खेल्न सिकाउनु पर्थ्यो।
उनको यो प्रयोग के का लागि ? के मैले कुनै त्यस्तो भूल गरेको थिएँ ? जुन
भुलको कारण म जिन्दगीभरी प्रेमको आगोमा जल्नुपर्ने थियो ? विस्तारै हामी
आपसमा टाढिन वाध्य भयौं किनकि अब नजिकिनुको कुनै मूल्य थिएन ।
उनको याद छाती चिरेर मेरो मुटुमा जान्थ्यो । घाइते भैसकेको मुटुलाई
धारिलो चक्कुले चिरिदिन्थ्यो र हाँस्दै निस्किन्थ्यो । कसरी भुल्न सकिन्छ
त्यो सुत्र मसँग थिएन । आखिर सम्झनुको, उनको यादमा तड्पनुको पनि त कुनै
अर्थ थिएन । जे होस् हाम्रो सम्पर्कको पुल भत्किसकेको थियो । तर उनको यादले
भतभती पोलेपछि एकदिन उनलाई फोन गरें । सायद पाँच महिनापछि फोन गरेको जस्तो
लाग्छ । उनले मलाई फोनमा भनिन् – ‘तर मैले तिम्लाई एकदमै माया गर्थें ।’
‘तिमी मलाई माया गर्थ्यौ तर म तिमीलाई अझै पनि उस्तै माया गर्छु, पागल ।’
मैले अलिक भावनात्मक भएर उनीसमक्ष यो भनाइ पेश गरें । उनले प्रतिक्रिया
स्वरुप ‘ए’ भनिन् । आफ्नो बिहे हुन लागेको भन्दै निम्ता गरिन् । मैले उनका
कुराहरूमा विश्वास गरिन । किनकि उनले विश्वासको जरो पहिले नै उखेलेर फालेकी
थिइन् ।
केही समयपछि रोजाको बिहे भएको खबर उनको साथीमार्फत मकहाँ आयो । बिहे
साँच्चिकै भएको रहेछ । तर श्रीमान बिनोद नभएर अरु कोही थियो । म जिल्लिएँ ।
बिनोदसँगको प्रेम पनि तुहिएछ । मैले फेसबुकमा रोजाका पब्लिक गरिएका सबै
तस्वीरहरू हेरें । तस्वीरले पाएका कमेन्टहरू हेरें । साँच्चै सुहाएको थियो
त्यो जोडी । लाग्यो रोजाको जिन्दगीमा अझ धेरै खुसीहरू भित्रिए । कतै पढेको
जस्तो लाग्छ – ‘केटीहरू सोझो युवासँग प्रेम गर्छन् । राम्रा युवासँग
सम्पर्कमा रहन्छन् । र अन्तमा धनी युवा खोजेर बिहे गर्छन् ।’ अब उनको
जिन्दगीमा केवल सफलता मात्र होला । सायद उनी अझ धेरै खुसी होलिन् । उनको
खुसीमा के बिनोद पनि खुसी होला ? कि म जस्तै तड्पिएको छ ?